काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सिंहदरवारमा आज बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।



प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १२:१८