खोटाङ : विदेशबाट पतिले पठाएको पैसाका विषयमा परिवारका सदस्यबीच झगडा हुन नदिन खाल्लेकी मुना बस्नेतले हिसाबकिताब पारदर्शी राख्न थालेकी छिन्।

विदेशबाट आएको पैसाको हिसाब र परिवारसँग सम्बन्धित घरभित्र तथा बाहिरका समस्या सासूससुरालगायतलाई सुनाउन थालेपछि विवाद हुन छाडेको र सहज समाधान हुन थालेको उनको अनुभव छ।

मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट लाग्ने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला अहिले संयुक्तरुपमा तनाव व्यवस्थापनमा लागेका छन्।

आक्षेप र पारिवारिक समस्याका कारण अप्ठेरोमा परेका महिला मनोसामाजिक परामर्श लिएर तनाव व्यवस्थापनमा लागेको स्थानीय विमला विश्वकर्मा बताउँछिन्।


वैदेशिक रोजगारीका कारण घरपरिवारमा निम्तिने समस्याले अप्ठेरोमा परेका बेला परिवारकै सदस्यबाट साथ नपाउँदा कतिपय महिला डिप्रेसनको सिकार भएको, कतिपय महिलाले ज्यानै गुमाएको र परिवारसमेत विखण्डन भइरहेको तथ्यलाई ध्यानमा राखेर मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको बालसेवा समाज खोटाङले जनाएको छ।

पति विदेश भएका महिलाहरूलाई मनोसामाजिक परामर्श दिनेक्रममा अरुको कुरा काट्न नहुने, परिवारका सदस्यसँग मिलेर बस्नुपर्ने, विदेशबाट पतिले पठाएको पैसाको हिसाब पारदर्शी राख्नुपर्ने, घरको काम बाँडेर गर्नुपर्ने, तनाब हुँदा पानी पिउनेलगायत विषयमा जानकारी दिइएको छ।

मनोसामाजिक परामर्श कक्षा लिएपछि बालबच्चालाई कुटपिट गर्ने, गाली गर्ने, विदेशबाट आएको रकम सदुपयोग नगर्ने, अर्काको कुरा काट्ने बानीमा सुधार आएको स्वयं ती महिलाले बताएका छन्।

मनोसामाजिक परामर्शक्रममा घरको काम बाँडेर गर्ने, सुखदुःख साटासाट गर्ने, अरुका कुरा नकाट्ने, तनाव व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी हासिल भएको सीता बस्नेतले बताएको नागरिक दैनिकमा समचार छ।