काठमाडौं: नेपालमा सन् १९८६ देखि फेला परेको कालाजार तराईका जिल्लाको रैथाने रोग मानिने गरिए पनि पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ। प्रत्येक वर्ष विभिन्न जिल्लामा फैलिँदै गएको यो रोग यस वर्ष हिमाली जिल्लाका तल्लो भागहरूमा समेत देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा भेक्टर कन्ट्रोल शाखाका अनुसार तीन वर्षयता हुम्ला, मुगु, बाजुरा, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा पनि कालाजारका बिरामी भेटिएका छन् । ओखलढुंगा, प्युठान, पाल्पा, सुर्खेत, भोजपुर लगायतका जिल्लामा केही वर्षदेखि कालाजार बढ्दै गएको छ ।


सेनफ्लाइ भन्ने भसुुनाले टोकेपछि मानिसमा कालाजार संक्रमण हुन्छ । यो संक्रमण शरीरमा प्रवेश गरेपछि कलेजो, फियो हुँदै रगतका सेलहरूमा समेत पुगेर क्षति गर्छ । सेनफ्लाइ भुसुनाले लेसमिनियासिस नामक परजीवि सार्छ ।

यो भुसुना गोबर, गुइँठा, गोठ, चिरा परेका पर्खाल, ओसिलो ठाउँ, मुसा बस्ने प्वाल, कच्ची घर तथा गाईवस्तु र मान्छेसँगै घरमा बस्छ । यो भुसुनाले टोकेको दुईदेखि ६ महिनाभित्र लक्षण देखिन्छन् । यो भुसुना फैलिने उपयुक्त तापक्रम १६ देखि ३० डिग्री हो । यो भुसुना फागुनदेखि असार-साउनसम्म बढी सक्रिय हुन्छ ।चालू आर्थिक वर्ष अर्थात् सन् २०१८ को मार्चदेखि हालसम्म मात्र कालाजारका ६० बिरामी भेक्टर नियन्त्रण शाखामा दर्ता भएको तथ्यांक रहेको नागरिक दैनिकमा समाचार छ ।