काठमाडौंः पछिल्लो समय नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल भित्रको विवाद उत्कर्षमा पुेका बेला अध्यक्ष र महासचिवले एक अर्कालाई कारबाही गरेको बताएका छन् ।

शनिबार अध्यक्ष जीत जंग बस्नेत र महासचिव भुपेन्द्र जंग शाहीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै एक अर्कालाई कारबाही गरेको जानकारी दिएका हुन् ।

अध्यक्ष बस्नेतले पदीय मर्यादाभन्दा बाहिर गएर अनुशासनहीन कार्य गरेको भन्दै महसचिव शाहीलाई पदबाट हटाइएको जनाएका छन्। तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहेको गरी शाहीलाई हटाइएको बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यता महासचिव शाहीले पनि शनिबार नै अध्यक्ष जितजंग बस्नेतलाई एक वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेको बताएका छन् । शाहीले बस्नेतलाई अनुशासन विपरीत काम गरेको भन्दै कारवाही स्वरूप बर्खास्त गरेको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि भ्रष्टाचारविरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा रोकेको, पटक(पटक संगठन विस्तारको काम गर्न नचाहेको जस्ता आरोप लगाउँदै बर्खास्त गरेको विज्ञाप्तिमा उल्लेख छ ।

सुरूमा संगठनका महासचिव शाहीलाई अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका थिए त्यसकाे केही समयपछि बस्नेतलाई नै कारवाही गरी महासचिव शाहीले बर्खास्त गरेका हुन् ।

पछिल्लो समय यी दुई नेताहरुबीच भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा विवाद चर्कंदै आएपछि यी विवाद सुरु भएको हो।