भक्तपुरः नेपाल तरुण दल चाँगुनारायण नगर समितिले कोरोना महामारीका विरुद्ध अहोरात्र कार्यक्षेत्रमा खटिने प्रहरी तथा स्थानीय पत्रकारलाई ब्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भइरहेको परिस्थितीमा हाम्रो देशमा पनि दैनिक रुपमा संक्रमितहरु र मृत्यू हुनेहरुको संख्या बढी रहेकोले अग्रपंक्तिमा रहेर खटिने प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई तरुण दलले आज एक कार्यक्रमका बीच मास्क, पन्जा र सेनिटाइजर हस्तान्तरण गरेको हो ।

महानगरीय प्रहरी प्रभाग, ब्यासी र स्थानीय पत्रकारहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको तरुण दल चाँगुनारायण नगरपालिकाका नगर अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।


उनले तरुण दलले संकटको यस घडिमा रचनात्मक भूमिका निर्वाह गर्दै सरकारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको पनि बताए । साथै क्रमिक रुपमा सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु र अग्रपंक्तिमा रहेर कोभिड–१९ विरुद्ध लड्ने स्वयंसेवकहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिने अध्यक्ष थापाले बताए ।

नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका–३ का वडा सभापति राजेश शाही ठकुरीले कोरोनाको जोखिम न्यूनीकरणका गतिविधिहरुका साथै जोखिम समुहमा रहेका मानिसहरुको पहिचान गरी तत्काल पि.सि.आर परिक्षण गर्न, फेला परेका संक्रमितहरुको तत्काल उपचारको लागि आवश्यक आइसोलेशन तथा अस्पतालको ब्यबस्थापन गर्न नगरपालिका समक्ष माग गरे ।


प्रकाशित मितिः मंगलबार, भदौ १६, २०७७, १७:४३