भक्तपुरः नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्व सांसद प्रेम सुवालले ताजा जनादेशको विकल्प नरहेको बताएका छन ।

आज भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को २० औं र २१ औं साधारण सभाको उद्घाटनमा बोल्दै सचिव सुवालले तीन बर्ष सम्म बहुमत प्राप्त सरकारले केहि काम नै गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरि ताजा जनादेशमा जानु स्वागत योग्य कदम भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दहाल र बरिष्ठ नेता माधव कुमार नेपालले काम नै गर्न नदिएको उनको तर्क थियो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले यस विषयलाई छिटै टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाई थियो ।


फरक प्रंसगमा नेपालमा सवारी साधनको बढ्दो प्रयोगले बातावरण प्रदुषण भएको भन्दै सवारी साधनलाई राम्रो मर्मत गरि मात्रै चलाउन ट्रक व्यवसायीहरुलाई उनले आग्रह गरे ।

व्यवसायीहरुले भने रातीको समयमा मात्रै ट्रक ताथ टिपरमा ढुवानी गर्ने नियमले व्यवसाय नै धरासायी बन्न पुगेको गुनासो पोखे । उनीहरुले माटो ओसार पसारमा समेत समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई समक्ष गुनासो गरे ।

प्रजिअ भट्टराईले व्यवसायीहरुको गुनासो जायज रहेको भन्दै माथिको आदेशमा आएको नियम परिवर्तन गर्न सम्भव नरहेको बताए । तर माटो ओसार पसारमा अएको समस्याको समाधान गर्न सकिने उनले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ २० गते मंगलबार, १३:०५