काठमाडौंः गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ ।

चीनको छदिने औपचारिक भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त नाका खोल्ने विषयमा चीन सरकारसँग सहमति भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले तातोपानी नाका खोल्ने विषयमा सहमति भएको, आवश्यक भौतिक पूर्वाधारको निर्माण तथा अन्य प्राविधिक तयारीको कामलाई समेत प्रभावकारीरुपमा अगाडि बढाइने जानकारी दिए ।


भूकम्पपछि सुरक्षाको कारण देखाउँदै चीन सरकारले सो नाका बन्द गर्दै आएको थियो । नाका खोल्नका लागि सिन्धुपाल्चोकका राजनीतिक दल, उद्योगी, व्यवसायी तथा सरोकार भएका समुदायले सरकारसँग आग्रह गर्दै आएका थिए ।

सो राजमार्गअन्तर्गत बाह्रेबिसे खण्डसम्मको अवस्था राम्रो भए पनि त्यसभन्दा माथिको सडक भने पहिरोका कारण समस्या परेको छ । कतिपय स्थानमा सडक भासिएका छन् भने कतिपय स्थानमा सडकमाथिबाट खसेको पहिरो पन्छाउने कामसमेत हुन सकेको छैन ।