ताप्लेजुङः ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार राति साढे १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ ।

प्रहरीका अनुसार फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागीले वरपर रहेका सात घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो ।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुँदा छिमेकी नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


यसै गरी सोही आगो फैलन गई नजिकै रहेका बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्ती समेत जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, वैशाख २०, ११:३८