काठमाडौंः तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका–१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका–९ बस्ने ५० वर्षीय राम बहादुर गुरुङ लगायत १३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ, ३ गड्डी तास र ३ सय १५ पत्ती खुल्ला तास सहित फेला पारी पक्राउ गरेको हो ।

उनी माथि जुवा सम्बन्धि कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–२ बस्ने बेचु ठाकुरको घरमा तास खेलिरहको अवस्थामा सोही उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय शुसिल साह लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४५ हजार ४ सय ३० रुपैयाँ र १० बुक तास सहित पक्राउ गर्नुका साथै हाल फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ ।

यसैगरी, नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–१५ बस्ने मिनराज महत्तोको घरमा तास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका–११ बस्ने ३६ वर्षीय लिला बहादुर राना लगायत ८ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजार रुपैयाँ लेखिएको १ थान चेक, १ सय ३० भारतीय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १६:१७