काठमाडौंः प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको समय उत्तम छ ।


आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो ।

दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

मंसिर २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथी रहेकाले नेवार समुदायका केही व्यक्तिहरुले मंगलबार भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १ सोमबार, ०७:३१