काठमाडौंः तीन महिनाअघि अर्थात माघ ३ गते कास्की अन्नपूर्ण गाँउपालिका–११ मा पर्ने हिङकु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका सातै जनाको शव नेपाली सेनाले फेला परेको छ ।

पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ ।

हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।

अन्य दुई जनालाई खोज्न पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट टोली परिचालित भएको थियो ।


सो टोलीले वैशाख १९ गते शुक्रबार फेला पारि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्‍याएको नेपाली सेनाले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, वैशाख २०, ११:२०