काठमाडौं : आइजीपी नियुक्ति प्रकरणमा सरकार र अदालतबीचको टकरावबाट चिठा परेर प्रहरी महानिरीक्षक बनेका प्रकाश अर्याल यतिबेला संगठनको चेन अफ कमान्ड र मनोबल ध्वस्त पार्ने नयाँ डिजाइनमा लागेका छन् ।

आगामी फागुनमा अनिवार्य अकाश पाउने प्रकाश पदावधि लम्बाउनका लागि तीस वर्षे सेवा अवधि हटाउने खेल सुरु गरेका छन् । तीस वर्षे सेवा अवधि हटाउने चर्चा २०४८ सालदेखि नै हुँदै आएको छ । बेलाबेलामा यो विषय उठ्ने र उठाउने गरिन्छ, तर यो आफै सेलाउने गरेको छ । संगठनमा सुधार तथा सेवा सर्तलाई वैज्ञानिक बनाउने उद्देश्य भन्दा पनि नितान्त आफ्नो कुर्सीको आयु लम्बाउने नियतका साथ उनी यो डिजाइनमा लागेका छन् ।


अहिले प्रहरी स‌ंगठनमा अवकाशका लागि तीनवटा प्रावधान छन् । उमेर, सेवाअवधि र पदावधिका लागि राखिएका अलगअलग प्रावधानले बेलाबेलामा अन्योल र विवादउत्पन्‍न हुने गरेको छ। यो वैज्ञानिक र व्यवहारिक देखिदैन। तीस वर्षे सेवा अवधि हटाउने प्रस्ताव आफैमा नराम्रो विषय होइन । तर यसमा पर्याप्त अध्ययन, छलफल र गृहकार्य आवश्यक पर्दछ । यसलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्नुपर्छ र त्यसका लागि एउटा वैज्ञानिक कार्ययोजना चाहिन्छ। कसैको सनकमा वा स्वार्थका लागि यो व्यवस्था हचुवाका भरमा हतारमा लागु गर्दा संगठनमा त्यसले अर्को दुर्घटना वा दुर्दशा निम्त्याउने खतरा हुन्छ ।

अवकाशको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रायः हरेक आइजीपी र उनको समूहले पदावधि लम्बाउन प्रयोग गर्ने एउटा अस्त्र हो , तीस वर्षे अवधि हटाउने प्रस्ताव । जब पदावधि सकिन लाग्छ, आइजीपीको एउटा समूह तीस वर्षे सेवा अवधि हटाउने फन्डा अघि सारेर संगठनमा अन्योल र आशंकाको वातावरण सिर्जना गर्न खोज्छन् । यतिबेला प्रकाशले त्यही खेल सुरु गरेका छन् । यसले प्रहरीभित्रका थुप्रै क्रिम अधिकृतहरुको भविष्यमाथि खेलवाड गर्ने र उनीहरुको करिअरलाई बन्धक बनाउने डिजाइनसहित यो प्रस्ताव अघि सारिएको प्रहरीभित्रकै अधिकृतहरु बताउँछन् । यसले संगठनको संरचनामा खियाँ लाग्‍ने खतरा हुन्छ। हतारमा यो व्यवस्था लागु गर्दा संगठनभित्र गुटबन्दी र अनुशासनहिनता झन् बढ्ने चिन्तासमेत प्रहरी वृत्तमा गर्न थालिएको छ।

अहिले तीस वर्षे सेवा अवधि हटाउँदा प्रकाश अर्यालको पदावधि तीन वर्ष थपिनसक्छ । तर प्रहरीका थुप्रै उत्साही युवा अधिकृतहरुको नेतृत्वमा पुग्‍ने स्वभाविक बाटो बन्द हुन्छ । केही गर्नुपर्छ भन्ने उत्साह र आत्मविश्वास बोकेको प्रहरीभित्रको ‘क्रिम जेनेरेशन’लाई नै ड्यामेज गर्ने डिजाइनका साथ यो अस्त्र प्रयोग गर्न थालिएको छ ।

प्रकाश अर्याल तीनै व्यक्ति हुन्, जसले यसअघि तीस वर्षे सेवा अवधि हटाउन हुँदैन भन्दै लबिङ गरेका थिए । तर आज आफ्नो पदावधि बढाउने अन्तिम अस्त्रको रुपमा उनले तीस वर्षे सेवा अवधिको डिजाइन प्रयोग गर्न खोजेका छन् । यो व्यवस्थाले डीएसपीदेखि डीआइजीसम्मका हजारभन्दा बढी अधिकृतको वृत्तिविकासमा प्रत्यक्ष अवरोध पुग्‍नेछ। संगठनभित्र निराशा मात्र होइन, यसले हरेक असल सिपाहीको मनोबल समेत गिराउने छ।

आगामी फागुनमा अवकाश हुने प्रकाशको प्राथमिकतामा यतिबेला संगठन सुधार, वृत्तिविकास, चेन अफ कमान्डको सुदृढीकरण, संघीय अवधारणाअनुसार प्रहरीको पुनरसंरचना तथा कार्ययोजना हुनुपथ्र्यो । तर त्यसमा उनको पटक्कै ध्यान देखिदैन । उनको यतिबेला एउटै चिन्ता छ सबै अस्त्र प्रयोग गरेर जसरी पनि पदावधि बढाउने । यसका लागि विभिन्न शक्ति केन्द्र रिझाउन उनको दौडधूप सुरु भइसकेको छ।

३० वर्षे सेवाअवधिको प्रावधान हटाउने वा कायम राख्‍ने विषयमा २०४८ देखि नै विभिन्‍न चलखेल हुँदै आएको छ। यसलाई आफू अनुकुल प्रयोग र व्याख्या पनि गरिदै आएको छ। २०४८ सालमा तत्कालीन आइजीपी रत्नशमशेर जबरालार्इ ३० वर्षे सेवाअवधि लगाएर पदबाट हटाउँदा संगठनमा त्यतिबेला निकै असहज र अन्योलपूर्ण अवस्था उत्पन्‍न भएको थियो। त्यसको असर अहिलेसम्म पनि संगठनमा मेटिएको छैन।