सिमकोटः सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् ।

सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका–४ का बबर पालले बताए । आँखा चिम्म गरेर तर्नुको विकल्प नभएका कारण जनताले सास्ती खेपिरहनु परेको छ ।

पुल निर्माणको माग गरिए पनि त्यो पूरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता भएको छ ।


। पुल निर्माणका लागि स्थानीय सरकारसँंग माग नगरिएको पनि होइन तर कतै सुनुवाइ नहुने स्थानीयको गुनासो छ । कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका क्षेत्रमा दुईवटा तुइन सञ्चालनमा छन् । यी तुइनमा दैनिक रुपमा ३० देखि ४० जना स्थानीय र बटुवा वारपार गर्दै आएका छन् ।

कर्णाली नदीमाथि वर्षौंदेखि पुलको माग गर्दै आएको भए पनि त्यो माग पूरा नहुँदा वर्षौंदेखि तुइन तर्नु परिरहेको खार्पुनाथ गाउँपालिका–४ की कुसुम रावतले बताइन् । तुइन तर्दा आङ सिरिङ्ग हुने गरेपनि तर्नैपर्ने बाध्यता रहेको कारण डराएरै तर्ने गरिएको रावतले जनाइन् । खार्पुनाथ गाउँपालिका क्षेत्रमा मात्र कर्णाली नदीमाथि चारवटा तुइन सञ्चालनमा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, मंसिर १७, ०७:०८