काठमाडौंः लुम्बिनीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित गरिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सम्मेलन स्थगित गरिएको लुम्बिनी विकास कोषले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

वैशाख २५ गतेका लागि तय भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित गरिएको हो ।

लकडाउनका कारण विगत वर्षहरुमा जस्तो हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कोषले जनाएको छ ।

कोषले सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्दै कोरोना भाइरस नियन्त्रणका लागि बौद्ध भिक्ष/भिक्षुणी लामा गुरु/गुरुआमाहरूबाट विश्व शान्तिको काम गर्दै पूजापाठसहित २५६४ दीप प्रज्ज्वलन गर्ने बताएको छ ।


कोषले बौद्धमार्गीलाई आ–आफ्नो स्थानमा सुरक्षित रही प्रार्थना एवं पाठपूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख १८, १६:०४