काठमाडौंः भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो ।

दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा परीक्षण गरिएको थियो ।

प्राधिकरणले पाँच सेकेन्ड अथवा सोभन्दा कम समयभित्र फोनकल स्थापना हुनुपर्ने मापदण्ड तोके पनि दमकमा नेपाल टेलिकमको ९.३६ सेकेन्ड, एनसेलको ६.४५ र स्मार्ट टेलिकमको ८.०२ सेकेन्डमा मात्रै कल स्थापना भएको छ ।


। इलाममा नेपाल टेलिकमको ९.५७ र एनसेलको ७.५८ सेकेन्डमा कल स्थापना भएको पाइएको छ ।

फोन गर्ने व्यक्तिले फोन गरेको समय र प्राप्त गर्नेकोमा सूचना प्राप्त हुने समयबीचको अवधिलाई फोनकल स्थापना हुन लाग्ने समयका रुपमा गणना गरिन्छ । फोनकल स्थापना हुने दर ९९ प्रतिशत हुनुपर्नेमा परीक्षणमा नेपाल टेलिकमको ९७ प्रतिशत, एनसेलको ९६.९७ प्रतिशत र स्मार्ट टेलिकमको ९४ प्रतिशत मात्र दर मापन भएको छ । यस्तो दर इलाममा नेपाल टेलिकमको ९८.९४ प्रतिशत र एनसेलको ८१.२५ प्रतिशत रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, फागुन ४, ०७:१८