काठमाडौंः त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै उपाधि आफ्नो कब्जामा लिन चाहान्छन् । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ । नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ ।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् ।


सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो ।

डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा थियो । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । यस्तै, मलेसिया ४ खेलमा पुछारमा रहँदै बाहिरिएको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, ०८:४१