काठमाडौंः त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जितसहित उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले उपाधि जितेको हो ।

जितका लागि २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २६, ओपनर म्याक्स ओडाउडले २० र कप्तान पिटर शिलारले १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि करण केसीले तीन, कमल सिंह ऐरी र सन्दीप लामिछाने समान दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

नेपालका ओपनर कुशल भुर्तेलले ७७, कुशल मल्लले ५०, उप कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आसिफ शेखले १६ रन बनाए ।

नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ तथा सेवास्टीयन ब्राटले एक विकेट लिए ।

नेपालले टि–२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १७:५२