काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना महिला र ५२ जना पुरुष गरी कूल ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मन्त्रालयले आज पनि संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै आज मृत्यु हुनेको संख्या २३३ जना थप गरेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।


पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख ७३ हजार ५११ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५९ जना र सक्रिय संक्रमित ७६६ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७० हजार ६०५ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १८:०६