काठमाडौंः  ललितपुरे क्लब थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुर डर्बीमा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो । खेलको ७० औं मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले निशान खड्काको फ्रिकिक बललाई हेडबाट पोस्टको दिशा देखाएका थिए ।


। त्यसपछि खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २(० को जित दिलाए । च्यासलका डिफेन्डर छिरिङ गुरुङले डिबक्स भित्र लाल राम्मव्रालाई लडाएपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले थ्री स्टारलाई पेनाल्टी दिएका थिए ।

जितसँगै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ । च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ । च्यासलले १३ खेलमा १५ अंक जोडेको छ ।

च्यासल आठौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, १४:५१