काठमाडौंः नेपाली तिथि अनुसार जेठ १९ आउने बित्तिकै जिउ नै सिरिङ्ग पार्ने नारायणहिटी राजदरबार हत्याकण्ड नसम्झने कमै हुन्छन् । सधै वर्ष झै यसपालि पनि जेठ १९ त्यही काहाली लाग्दो रात सम्झाउँदै आएको छ । तात्कालिन राजा वीरेन्द्रको बंश नास हुने गरी भएको दरवार हत्याकाण्डको १७ वर्ष पुरा भएको छ ।

२०५८ साल जेठ १९ गते राती दरवारमा भएको अकल्पनीय हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनसहित १० जनाको मृत्यु भएको थियो ।

इतिहासको गर्भमा रहस्यकोरुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो ।


। बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन भने हुन सकेको छैन ।

तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पा-यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझै पत्याएका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध  भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले पहिलो संविधान आफै लेखेको छ र कार्यान्वयनमा आएको छ । शाहवंशीय राज्य संरचना अन्त्य गर्दै मुलुकमा संघीय शासन प्रणाली लागु भएको छ । अझै पनि राजसंस्था फर्काउनु पर्छ भनेर संसद भित्र र बाहिर समेत आवाजहरु उठेकै छन् ।

शासकहरुले विरेन्द्रको बंशनाश हुने गरि भएको हत्याकाण्ड भुल्ने वा भुलाउने प्रयास गरेपनि त्यो कहाली लाग्दो नारायणहिटी हत्याकाण्ड र हत्या भएका कारण पनि बढि साहनुभुति पाएका विरेन्द्रका परिवारलाई नेपाली जनताले सम्झिरहने छन् ।

नारायणहिटी हत्याकाण्डका विषयमा विभिन्न रहस्या कथा बने तर सत्य कहिले पनि बाहिर नआउने गरि लुक्दै छ । अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।