काठमाडौंः अनलाइन सपिङ कम्पनी दराज विरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरेको समाचार आजको कान्तिपुरले एघारौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, दराजमार्फत एकथोक सामान अर्डर गर्दा अर्कै सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको विभागले जनाएको छ ।

विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो । ‘उजुरी परेपछि अनुगमन गरेका थियौ,’ विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दियौं ।


।’ दोस्रो चरणमा कम्पनीको कागजपत्र अध्ययन गर्ने उनले बताए ।

विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालका अनुसार दराज विरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो । उजुरीकर्ताले मिनी फोकस ब्राण्डका घडी अर्डर गर्दा फ्रोस ब्राण्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन् । सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो । दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरुसँग छलफल गरेका थिए ।


प्रकाशित मितिः मंगलबार, कार्तिक २६, ०६:४३