काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छिन् ।

विगतका वर्षहरुमा जस्तै राष्ट्रपति भण्डारीले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाएपछि सम्माननीयहरु, माननीय उपप्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, न्यायाधीशहरु, संघीय संसद्का सदस्यहरु, संवैधानिक निकायका पदाधिकारीहरु, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

असोज २१ गते विजया दशमीका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म सम्माननीयहरु, माननीय उपप्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, न्यायाधीशहरु, संघीय संसदका सदस्यहरु तथा संवैधानिक निकायका प्रमुखलगायतलाई टीका लगाइदिनु कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।


त्यस्तै, सर्वसाधारणलाई भने दिउँसो २ः३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । त्यसका लागि शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नसमेत बताइएको छ ।

फाइल तस्विर


प्रकाशित मितिः शनिबार, असोज १८, १०:१६