काठमाडौंः दशैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रुपमा लिइन्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रुपमा दशैं मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरुले सन्तुलित खाना खान सुझाव दिएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् ।

चिकित्सकले दशैंमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरुले सतर्कता अपनाउनुपर्ने बताएका छन् ।


अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अंगमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् । वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्रा.डा. उमा कोइरालाले दशैंमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने बताइन्  । पोषणविद् कोइरालाले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अंगसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझाव दिइन् ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०७:२५