जनकपुर:  प्रदेश २ मा सरकार गठन भएको सोमबार सय दिन पुगेको छ। उक्त अवसरमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सदनमा सरकारको सयदिने प्रगति विवरण सार्वजनिक गर्दै दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा पुरा गरेको दाबी गरेका छन्।

खासगरी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई मुख्यमन्त्रीले ठूलो उपलब्धि भएको बताएका छन्। मोदीको भ्रमणसँगै जनकपुरमा पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको दाबी गर्दै राउतले भने, ‘मोदीजीको भ्रमणले यो प्रदेशलाई ठूलो लाभ दिने संकेत गरेको छ। यो प्रदेश सरकारको लागि एउटा ठूलो उपलब्धि हो।’

जलविद्युत्को सम्भावना नै नरहेको प्रदेशमा वैकल्पिक रूपमा सौर्य ऊर्जा जडानका लागि नीतिगत काम पूरा भएको र प्रदेश प्रहरी तालिम केन्द्र स्थापनाको लागि धनुषा, मिथिला नगरपालिकास्थित चमिनियाँमा जग्गा बन्दोबस्तीको लागि सर्वदलीय निर्णय भइसकेको मुख्यमन्त्री राउतले बताए ।


त्यस्तै, बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत बारा, पर्सा र धनुषालगायत पाँच हजारभन्दा बढी बालिकालाई विद्यालय भर्ना गराएर केही बालिकाको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले अभिभावकत्व ग्रहण गरेको उनले बताए। नागरिक दैनिकमा समाचार छ ।