भक्तपुर: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस कार्यकर्ताहरुलाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका छन्।

असार १५ तथा धान दिवसको अवसरमा शुक्रवार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ द्धारा आयोजित रोपाई तथा दहि चिउरा कार्यक्रममा सभापति देउवाले भोलीको दिनमा अझ ठूलो चुनौती आइपर्न सक्ने भन्दै सबैलाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका हुन्।

उनले भने, ‘पार्टीका सबै साथीहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु, भोलीका दिनमा आउने चुनौतीहरुको सामना गर्दै हामी पार्टीलाई पुनः पुरानै स्थानमा पुर्‍याउँछौँ।’ उनले रोपाइँ पनि नेपाली संस्कृति भएको बताउँदै देशको संस्कृति र ईतिहास बचाउन नेपाली कांग्रेस सधैं प्रतिवद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा भब्तपुर जिल्ला सभापति दुर्लभ थापाले गत वर्ष सम्पन्न निर्वाचनमा व्यहोरेको हारबाट पाठ सिकेर कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्‍द्रीय सदस्य डा. दिला संग्रौला, चाँगुनारायण नगरसमिति संयोजक यादवप्रसाद अधिकारी, जिल्ला सदस्य किरण न्यौपाने लगायतले २०१५ सालमा स्व. गणेशमान सिंहले खरीपाटीमा धान रोपेर असार १५ र धान दिवस मनाएको स्मरण गर्दै राष्ट्रिय धान दिवसको महत्वबारे चर्चा गरेका थिए।