आज मैले नयाँ दाँत हाले । हुन त मेरा दाँत पहिले देखि नै कमजोर हुन् । दुई वटा खाल्टा लामो समय यसै रहे । नक्कली दाँत के राख्ने भनेर हालेको थिइन् । तर अप्ठारो भएकोले नक्कली नै भए पनि राख्ने विचार गरे । सक्कली त अब कहाँ पाउनु ! टुटेको दाँत र फाटेको आत फर्काउन सकिदो रहेनछ ।

संजोग पनि कस्तो, दाँत राख्ने दिन भारतले चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने दिन परेछ । डाक्टरले दाँत मिलाउँदा पनि मेरो मनमा चन्द्र यान २ चन्द्रमामा अवतरण गरे होला नहोला भन्ने खुल्दुली लागि रह्यो । अघिल्लो दिन आधा रात सम्म चन्द्र यानको जोसिलो लाइभ रिपोर्ट भारतीय च्यानलमा हेरेको थिए । वि.सं. २०६३ देखि निरन्तर लागेको भारत चन्द्र यान २ चन्द्रमामा अवतरणको करिव नजिक रहेको थियो ।


। डाक्टरलाई सोधे यो बलियो त हुन्छ भनेर ? डाक्टरले अव सधैलाई ठीक हुन्छ भन्यो । सायद मेरो उमेरको हेक्का राखेर भने होला भन्ने चिसो पस्यो मनमा । मेरो आमाले अन्तिम दिन तिर बिहान उठेर भन्ने गर्नुहुन्थ्यो ‘हेर त साने मेरो नाकका फोहोरा ठूला भा छन, यस्तो हुने छिटै मर्छन रे!’ आमाले भनेका ती कुरा झट्ट याद आयो । उमेर ढल्दै जाँदा यस्तै यस्तै गन्टनाहरु आउँदो रहेछ सायद ।

दाँत राखेर फर्किदा ववईको शेर्पा होटेलमा नास्ता खान रोकियौ । दाँत राखेको बेग्लै अनुभूती भैरहेको थियो । मेरो दाँतमा रहेका खाल्टा पुरिएका थिए । जिब्रोले पटक पटक नयाँ दाँतलाई सुमसुमाइरहेको थियो । सायद अरु दाँतसँग मिलेर दन्त्य प्रणालीमा समायोजन हुन सिकाइरहेको थियो । बाहिरबाट आएको कृतिम दाँतसँग समायोजन हुन साबिकका दाँतहरुलाई कठीन त पक्कै भएहोला । तर विकल्प थिएन; जिब्रोको सहजीकरणमा समायोजन अपरिहार्य छ। त्यसैले आज मलाई सेलिब्रेसन गरी दन्त प्रणालीमा नयाँ दाँत समायोजन गर्न मन लाग्यो । साथमा कोही थिएन, चालक भाईलाई भने । उनले सो अनुसार अलग कोठा माछा र वीयरको व्यवस्था मिलाए । चन्द्र यान २ चन्द्रमामा अवतरण त हुन सकेनछ, खिन्न लाग्यो । तर मैले मेरो नयाँ दाँतमा ववईको माछा अवतरण गराए । एक्लै थिए तर मानसपटलमा पुराना दिनहरु सलबलाए, विशेष गरी बाले नक्कली दात हाल्दाको अवस्था झट्ट दिमागमा आयो । बाले पनि दुई वटा दाँत हाल्नु भएको थियो । त्यती बेला निकालेर सफा गर्न मिल्ने दाँत हुन्थे । बा सधै बिहान आगनमा खरानीले ती दाँतहरु मोल्दै कराउनु हुन्थ्यो यति बेलासम्म उठेका छैनन । भाईहरु सानै थिए, म ठूलो भएकोले मलाई उठन कर लागिहाल्थ्यो । बा कराएको पनि मलाई नै हो जस्तो लाग्थ्यो । आँखा मिच्दै म तल ‌ओर्लिन्थे । आमाले भन्न थाल्नु हुन्थ्यो, ‘मेरा दाँत त अहिलेसम्म केही भएकै छैनन, तेरा बाउका दाँत जे मनलाई खाएर झरी सके। ल पखाल्न पानी लगिदे ।’ लोटामा राखिदिएको पानी लिएर म आगनमा जान्थे। बाले अंगार र खरानीले नक्कली दाँत खुव मोल्नु हुन्थ्यो। मैले बाको धोते अनुहार हेरेर जिस्काउथे, बा धोते अनुहार मै मुस्कुराउनु हुन्थ्यो । यो दैनिकी जस्तै थियो, बाको यो कुरा मेरो लागि घडिको अलार्म जस्तै हुन्थ्यो । किनकि बिहानै उठी एक डोको मुष्खेरी (घाँस) काटेर मात्रै स्कुल जान पर्थ्यो । स्कुल फेरी दुई घण्टाको उकालो हिडेर मात्र पुगिने । समयमै नउठे आफैलाई स्कुल पुग्न ढिला हुने । किन किन आज मलाई त्यही आगन र त्यस्तै परिबेश भएको भए हुन्थ्यो जस्तो लाग्यो । तर मलाई समयले धेरै पर उछिट्टाई सकेको छ, त्यसैमा समायोजन हुन विवस छु म मेरा कृतिम दाँत जस्तै ।

हुन त मलाई सबैले आमा गोत गएको भन्छन तर दाँत र हाँसो भने ठ्याक्कै बाको जस्तै रे । नयाँ ठाँउमा पनि मलाई यसैबाट फल्नाको छोरो भनेर ठ्याक्कै चिन्थे । वास्तवमा मेरा दाँत मेरो पुर्खौली पितृ पहिचान बनेकोछ । त्यही मध्य दुईवटा कृतिम दाँत हालेर आए आज । त्यसको सेलिब्रेसन पनि गरे । अब हेर्नु छ यसले मेरो पुर्खौली पहिचान कायम राख्छ राख्दैन । तर एउटा कुरा पक्का हो जति ढाक्न खोजे पनि यसले मेरो खस्कदो उमेरको भने उजागर गर्ने नै छ । उमेर खस्कदै गए पछि त मान्छेको व्यवहार नै फेरिदो रैछस सम्वन्धहरु पातलिदै जाने, खुम्चिदै जाने र कतिपय त टुट्ने रहेछन । आखिर भौतिक आधारमा हुने सम्बन्धहरु लाभहानी र नाफा नोक्सानको झिनो त्यान्द्रोमा अडेको त हुदो रहेछ कुन बेला टुट्छ थाहै नहुने । यस्ता यान्त्रिक सम्बन्धहरु त्यही कृतिम दाँत जस्तै हुदो रहेछ जति मिलाउन खोजे पनि अलिकत फुस्रो देखिहाल्ने, जिब्रोमा खस्रो लागिहाल्ने । फेरी यस्ता सम्बन्धको पनि एक चक्र हुँदोरहेछ । त्यसैले त होला कतिपयको हराभरा जिन्दगी बृद्धाश्रममा गएर टुंगिने । त्यस्ता सम्बन्ध मात्रै अजय हुँदो रहेछ जुन आत्मियताबाट उठेको हुन्छ र आध्यात्मले सिंचेको हुन्छ । तर यस्ता सम्बन्धहरु भेट्न गाह्रो, भेटिए पछि छोड्न गाह्रो किनकि यसमा लाभहानी वा नाफानोक्सानको कुनै मोलमोलाई हुँदैन, भौतिक कुराको कुनै गुन्जाइस हुँदैन । हुन्छ त बस आत्मिक विश्वास, भरोसा र त्याग मात्र । यस्तै यस्तै गन्टनाले कहिले हासो लाग्ने त कहिले आखाँ रसाउने भैरहेको थियो । गाडिमा मीठो गीत बजिरहेको थियो ‘आँख है भरी भरी ‌और तुम मुस्कुराने कि बात करते हो, जिन्दगी खफा खफा ‌और तुम दील लगाने कि बात करते हो ।’ गीत सुन्दासुन्दै भुसुक्कै निदाएको रहेछु । सायद बीयर पनि लागे होला । चालक भाईले निवास आयो सर भन्दा पो झसँग भएछु ।

  • डा. मान वीके

 

 


प्रकाशित मितिः बिहीबार, भदौ २६, १२:२८