जनकपुरधामः विवाहको रौनक र उत्साहले धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित मुसहरी टोलमा आइतबारको साँझ उल्लासमय थियो । स्थानीय बेचनीदेवी सदाकी छोरी पूजाको विवाहको भव्य तयारी थियो ।

छिमेकी मुलुक भारतबाट करिब ६० हजार खर्चेर ल्याइएको पन्डाल, लाइट र लाउडस्पिकरले उल्लास थपेका थिए । स्वयंवर मञ्च र विवाह मण्डप (मडवा) समेत तयार थिए । परिवार, छरछिमेक र आफन्त नयाँ पहिरनमा सजिएर जन्ती कुरिरहेका थिए । घरमा कोही गीत गाउँदै थिए भने कोही नाच्दै थिए ।

सजिएकी बेहुली पूजा पनि जीवनसाथी पाउने उल्लासले गदगद थिइन् । जन्तीलाई नास्ता खुवाउन मिठाईसहितका परिकार प्याक गरेर राखिएको थियो भने खानाका लागि परिकार पाक्दै थिए ।


तर यो खुसी टिक्न पाएन । घरपरिवार तथा टोलवासीले राति २ बजेसम्म कुरेर बसे तर जन्ती आएनन्, कारण थियो बिहेअघि नै दाइजोमा मोटरसाइकल नदिनु । आइतबार राति करिब १० बजेदेखि नै घरपरिवारले बेहुला र उनका बुवालाई फोन गर्न थाले, २ बजेसम्म पनि कसैको फोन उठेन । अनि आफन्त तथा परिवारको खुसी रुवावासीमा परिणत भयो । बेचनी बेहोस हुन थालिन्, घरिघरि दाँती लाग्न थाल्यो । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , ०७:३२