काठमाडौंः युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा पन्जाबले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरी भेट्टायो ।

पन्जाबको जितमा निकोलस पुरनले ५३, ग्लेन म्याक्स्वेल ३२, दिपक होडाले अविजित १५, क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ र जेम्स निशमले अविजित १० रन बनाए ।

दिल्लीका कागिसो राबडाले दुई तथा अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित १ सय ६, कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४, शिम्रन हिटमायरले १० रन बनाए ।

पन्जाबका मोहमद शामीले २ तथा ग्लेन म्याक्सवेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

यो खेलपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, ०७:५८