काठमाडौंः दिल्ली बुल्सलाई पराजित गर्दै नर्दन वारिवर्सले टी–१० को उपाधि जितेको छ ।

युएईको आबुधाबीमा शनिबार राति भएको फाइनलमा दिल्ली बुल्सलाई ८ विकेटले पराजित गर्दै वारिवर्सले उपाधि जितेको हो ।

बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

वारिवर्सका लागि वासिम मुहमदले २७, कप्तान निकोलस पुरनले १२, रोभम्यान पावेलले अविजित १६ र सिमोन्सले अविजित १४ रन बनाए ।

बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो ।


बुल्सका लागि मोहमद नाभीले २१, रहमानउल्लाह गुर्बाजले १३ र इभिन लेविसले १० रन बनाए ।

वारिवर्सका महेशले ३ विकेट लिए ।

प्रतियोगितामा वारिवर्सका निकोलस पुरन प्लेयर अफ दि टुर्नामेन्ट चुनिए । यस्तै सोहिल अख्तर उत्कृष्ट ब्याट्सम्यान र क्रिस जोर्डन उत्कृष्ट बलर चुनिए । युएई प्लेयर अफ दि टुर्नामेन्ट मुहमद वासिम घोषित भए ।


प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, ०८:४३