बेनीः म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन्।

विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्पर्कविहीन भएको कल्पनाका जेठाजु हिरा पुनले बताए।

“आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीलाई सहयोग मागेका छौँ” पुनले भने।

विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको खोजीमा परिवारका सदस्य, आफन्त, माइती पक्षले खोजीकार्यमा सहयोग गर्न अपील गरेका छन् साथै दुईवटा बालकसहित कल्पनालाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आफन्तले अनुरोध गरेका छन्।


कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीको सिलसिलामा यूएई छन्। खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय दरवाङमा निवेदनसमेत दिइएको छ।

परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि बेनी आउँदै गरेको बसमा चढेको सूचना आफन्तले पाएका छन्। दरवाङबाट काठमाडौँ जाने बसमा चढेको र बेनीमा झरेको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन्। बेनीबाटै कहाँ गएको भन्नेबारेमा कुनै जानकारी नभएको आफन्तको भनाइ छ। कल्पना छोरासँगै सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी चलेको छ। -रासस