बाराः बारा प्रहरीले दुई छुट्टाछुट्टै मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

सरकारी कागज किर्ते मुद्दाका फरार प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–४ बस्ने २९ वर्षीय सुरज लामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला अदालत बाराको २०७२ भदौ ९ गतेको फैसलाले सरकारी कागज किर्ते मुद्दामा ११ महिना ४ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा बिहीबार फेला पारी पक्राउ गरेको हो ।

लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार वीरगञ्ज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यसैगरी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने आर्यन भन्ने २१ वर्षीय संदिप शर्मालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असोज २३ गते राति १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २१, १०:१८