काठमाडौंः महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा स्थायी घर भई हाल काठमाडौं रानीवन बस्ने ३८ वर्षीय शिव कुमार घर्ती मगर रहेको महाशाखाले जनाएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा दुबई वर्किङ भिषामा आकर्षक तलब हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार १ सय ठगी गरेको खुल्न आएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पीडित खगेन्द्र चौधरी समेतले विभिन्न मितिमा दिएको उजुरीका आधारमा उनलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो काठमाडौं महानगरपालिका–२६ गोंगबुमा फेला पारी पक्राउ गरेको हो ।


घर्ती मगरलाई थप कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, चैत ५, ०८:४९