काठमाडौं : साझा सवालको पछिल्लो संस्करणमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तुति र उनी रिसाएको विषय अहिले सामाजिक सञ्जालमा हटकेक बनेको छ । विभिन्‍न कोणबाट यसबारेमा बहस भइरहेको छ र प्रतिक्रिया आइरहेको छ ।

कतिपयले प्रधानमन्त्रीको प्रस्तुति फितलो र अस्वभाविक भन्दै आलोचना गरेका छन् । केहीले प्रधामन्त्रीजस्तो विशिष्ट व्यक्तित्वलाई अन्टसन्ट प्रश्न सोध्‍न लगाएर बेइज्जत गरिएको प्रतिक्रिया दिएका छन् ।

साझा सवाल कार्यक्रमको सञ्चालक बीबीसी वल्र्ड सर्भिस ट्रस्ट हो, जुन बेलायती गैरसरकारी संस्था हो। बेलायतको सरकारी अनुदानमा चलेको प्रसारक संस्था बीबीसीको सामाजिक सेवामा कार्यरत अंगका रूपमा ट्रस्टलाई देखाउने गरिएको छ।


। नेपालमा यसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को हैसियतमा गतिविधि गर्दै आएको छ।

कुनै आइएनजीओले चलाएको बहसमा प्रधानमन्‍त्री नै जानु जरुरी थियो कि थिएन ? यो प्रश्‍न आफैमा विचारणीय छ। यसबारेमा उनका सहयोगी तथा सल्लाहकारहरुको भूमिका के रह्‍यो भन्‍ने कोणबाट पनि चर्चा भइरहेको छ। देउवा जानै पर्ने अवस्था आए पनि उनका सल्लाहकार र सहयोगीले कार्यक्रमको स्वरुप, प्रसंग, संभावित माहोलबारे उनलाई किन अपडेट गराएनन् ? यो पक्ष पनि महत्वपूर्ण छ।

देउवा यो कार्यक्रम नजाँदा पनि अपगाल आउने अवस्था थिएन। उनी मुलुकको प्रधानमन्‍त्री हुन्, उनको आफ्नै व्यस्तता हुन्छ। साझा सवालको बहसभन्दा धेरै महत्वपूर्ण काम र कार्यक्रमले उनलार्इ पर्खिरहेका हुन्छन्। तर प्राथमिकताको कार्यसूचीलाई पनि पन्छाएर उनी सहज रुपमा साझा सवालमा सहभागी भए। यसलाई उनको सरलता मान्‍नुपर्छ। उनले देखाएको यो सरलता र सदाशयतालाई कार्यक्रम उत्पादकतथा सञ्चालकले भने नियोजित रुपमा ‘एक्स्पोलाइट’ गर्न खोजेको आरोप लागेको छ ।

बीबीसी र साझा सवाल एउटै हो कि भन्‍ने आम भ्रम पनि छ। त्यो गलत हो । साझा सवाल आइएनजिओले चलाएको कार्यक्रम हो, यो बीबीसी न्यूजको उत्पादन होइन।खासगरी सामाजिक तथा विकासका मुद्दाहरुमा केन्द्रित भएर कार्यक्रम उत्पादन गर्दै आएको साझा सवालले पछिल्लो समय राजनीतिक विषयलाई बढी उठाउने गरेको छ।

एउटा आइएनजिओले नेपालको आन्तरिक मामिला तथा राजनीतिक विषयमा यसरी बहस चलाउन मिल्छ कि मिल्दैन भन्‍ने प्रश्‍न पनि बेलाबेलामा उठ्ने गरेको छ। कार्यक्रममा प्रश्‍नकर्ताले असान्दर्भिक प्रश्‍न गरेर देउवालाई जबरजस्ती इरिटेड पार्न खोजेका छन्, संचालिकाले पनि त्यसलाई मलजल गर्न खोजेकी छिन् । कुनै संशोधन वा सम्पादनबिना नै प्रशारण गरिएको प्रधानमन्‍त्रीसँगको यस्तो प्रस्तुतिले कार्यक्रम उत्पादकको नियतमाथि पनि प्रश्‍न उठेको छ। प्रश्‍नकर्ताले अक्सफोर्ड युनिभर्सिटीको प्रसंग निकाल्दै नेपाली नेताहरुको योग्यतामाथि टिप्पणी गर्न खोजेका छन्। त्यसमा प्रधानमन्‍त्रीले ‘मैले कहाँबाट ल्याउने अक्सफोर्ड युनिभर्सिटी’ भन्दै सरल जवाफ दिएका छन्। प्रधानमन्‍त्रीले बोल्दाबोल्दै पनि पटकपटक प्रतिप्रश्‍न र प्रतिक्रिया थप्‍ने काम भएपछि देउवा केही रिसाएका पनि छन्। यसमा कार्यक्रम संचालिका रमिते बनेकी छिन्।

सबै नेताका केही न केही कमजोरी हुन्छन्। देउवाका पनि केही अवगुण वा कमजोरी होलान् । नेपाली राजनीतिमा उनी एक शीर्ष व्यक्तित्व हुन् । उनको आफ्नो इतिहास छ। लोकतन्‍त्र र जनताको अधिकारका लागि उनी निकै लामो संघर्ष गरेका छन् र जेलनेल भोगेका छन् । अरुको वाक स्वतन्‍ त्रताका लागि लड्दा उनको जिब्रोसमेत काटिएको छ। समकालीन नेताहरुमध्ये पढेलेखेका नेतामा देउवा नै अगाडि पर्छन्।

देउवाका कमजोरी तथा गलत कामका बारेमा आलोचना, विरोध र टिप्पणी गर्न पाइन्छ। त्यो छुट हरेक संचारकर्मी मात्र होइन, प्रत्येक नागरिकलाई हुन्छ। तर उनको स्वभावजन्य कमजोरी र सरलतालाई दुरुपयोग गरेर उनलाई बद्‍नाम गर्ने प्रयासलाई कुनै पनि कोणबाट उचित भन्‍न मिल्दैन । सिधा र हक्की स्वभावका देउवा रकमी शैलीमा प्रस्तुत हुन जान्दैनन् र झुट पनि बोल्दैनन् । जे हो, त्यही उनी ठेट रुपमा बोल्छन् । उनको यो पहिचान र विशेषता हो । साझा सवालमा पनि उनले त्यही स्वभाव प्रदर्शन गरेका छन् ।

कसैको प्रबर्द्धन र कसैको बद्‌नाम गर्ने डिजाइनका साथ साझा सवाल तयार गरिने गरेको प्रतिक्रिया यतिबेला सामाजिक सञ्‍जालमा आउन थालेको छ। कतै शेरबहादुर देउवालाई पनि बेइज्‍जत गर्ने नियतका साथ कार्यक्रम डिजाइन गरिएको त होइन भन्‍ने आशंका अहिले आम रुपमा प्रकट भइरहेको छ।

आईएनजीओको हैसियतमा रहेको ट्रस्टले यहाँको आन्तरिक मामिलामा बहस चलाएर आमसञ्चारका माध्यमबाट प्रसारण गररिहेको छ। उसले आईएनजीओकै हैसियतमा नेपालमा रहेका विभिन्न दातृ निकायहरूबाट सहयोग उठाउँदै आएको छ। प्रतिष्ठित संचार संस्था बीबीसी रेडियो र बीबीसी वल्र्ड सर्भिस ट्रस्ट नामको आईएनजीओ फरकफरक हुन् भन्‍ने तथ्य थाह नपाएर पनि प्रधानमन्‍त्रीलगायतका विशिष्ट व्यक्तिहरु त्यहाँ पुग्‍ने गरेका छन्।

नेपालका सामुदायिक रेडियोहरूको संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याब)लाई साझेदार बनाएर ट्रस्टले आफूले उत्पादन गरेका कार्यक्रम प्रसारण गर्ने गरेको छ। ट्रस्टले बहसका लागि आफै विषय छनोट गरेर अतिथि र दर्शकसमेत आफ्नै तरिकाले तय गर्ने गरेको छ। सहभागीमध्ये केहीलाई प्रश्‍नकर्ताका रुपमा पहिले नै सेट गरिएको हुन्छ। त्यहीअनुसार त्यहाँ प्रश्‍न सोधिन्छ। साझा सवाल चलाउने ट्रस्टको पारदर्शिताबारे पटकपटक प्रश्‍न उठ्दै आएको छ।