नवलपरासीः कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बन्दै गएको एकता पार्टी नेतृत्वको पछिल्लो कदमले बिथोलेको बताएका छन् । उनले शुक्रबार सभापति शेरबहादुर देउवालाई लिखित पत्र बुझाउँदै विधानमा तोकिएबाहेकका विभाग बनाएर तथा केन्द्रीय समितिमा सदस्य र आमन्त्रित सदस्य मनोनयन गरेर पार्टीभित्र एकताको वातावरण बिथोलेको आरोप लगाएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाउने पछिल्लो निर्णयबाट असन्तुष्ट कोइरालाले आफ्नो समूहको सुझावमा देउवालाई लिखित पत्र बुझाएर निर्णय सच्याउन पनि आग्रह गरेका छन् । उनले विधानको व्यवस्थाको बुँदागत व्याख्या गर्दै पोखरेललाई हटाउने निर्णय अवैधानिक रहेको दाबी गरेका छन् ।


देउवाले गत फागुन २२ गते पोखरेललाई हटाएर विष्णुप्रसाद पौडेललाई सभापति तोकेका थिए । पोखरेल कोइराला र पौडेल देउवानिकट हुन् । ‘राजनीतिक रूपमा यो कार्यले गम्भीर सांगठनिक विवाद सिर्जना गरेको छ,’ कोइरालाले बुझाएको पत्रमा उल्लेख छ ।

कोइरालाले मौखिक रुपमै निर्णय सच्याउन आग्रह गरेका थिए तर देउवाले नमानेपछि पत्र बुझाएका हुन् । ‘आमनिर्वाचनपछि उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर मैले धेरै साथीको आलोचना सहँदै सभापतिज्यूलाई सहयोग गरेको हुँ,’ कोइरालाले पत्रमा लेखेका छन्, ‘तर पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा म पनि सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको छ ।’ उनले बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न छलफल र कुराकानी भइरहेका बेला केन्द्रीय विभागको गठन, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यको मनोनयन गरेर विवाद बढाएको बताएका छन् । यो समाचार आजको कान्तिपुर मा छ ।


प्रकाशित मितिः शनिबार, चैत १, ०७:५३