चितवनःपवित्र तीर्थस्थल देवघाटको बेनीमा शुरु भएको माघेसंक्रान्ति मेलामा आज विहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

मेलामा पुगेका दर्शनार्थीहरुको लागि नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ ।

संक्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक भएका थिए । हिजोदेखि नै भक्तजन बाक्लो भीड लागेको हो ।

माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।


देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पुर्याउन सकिने छ ।

दासढुङ्गाबाट जाँदा चार किमी दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ । देवघाट समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताए ।

आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ ।


प्रकाशित मितिः बुधबार ०१ माघ, ०७:५०