काठमाडौः देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

सोमबार दिउँसो प्रदेश १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


प्रदेश १ र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


प्रकाशित मितिः १७ कार्तिक २०७७, सोमबार, ०७:२२