फूट र जुटको अकल्पनिय शिकार बन्दै आईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेर तीनवटा पार्टी बनेपछि नेपाली राजनीतिमा अनेकौं अड्कलवाजीहरु भए । पार्टी फुटेपछिको केही महिनाबाट नै कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रकाशचन्द्र लोहनी अध्यक्ष भएको राप्रपा राष्ट्रवादी र पशुपति समशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकका बीचमा फेरी एकता गर्ने हल्ला चल्न थाल्यो । तीनवटै पार्टीकाबीचमा एकीकरण नभएपछि राप्रपा राष्ट्रवादी र राप्रपा प्रजातान्त्रिकबीचमा माघ २४ गते एकीकरण भयो । यी दुवै पार्टीको एकीकरण प्रकृयामा असहमति राख्दै आएका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहोराले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा आइतबार प्रवेश गरेका छन् ।


। उनै दीपक बोहोरासँग पार्टी प्रवेश गर्नुको कारण, पुरानो पार्टीमा भएको मतभिन्नता, अबको भूमिका र एजेन्डाको विषयमा आधारित रहेर नेपाल ताराका लागि सुदर्शन आचार्यले गरेको कुराकानीको सम्पादित अंश।

  • राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकोमा सर्वप्रथम हार्दिक बधाईं छ ।

– धन्यवाद

  • राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादी पार्टीको एकतामा सामेत नभई असन्तुष्टि जनाउँदै राप्रपा प्रवेश गर्नुको औचित्य के हो ?

– पूर्ववत् पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेपछि नै तीनैवटा पार्टीका नेताकार्यकर्तामा एकताको महसुस गरिएको थियो । गत माघ २६ गते तीनवटै राप्रपाको एकीकरणको तयारी भइरहेका बेला २४ गते एकीकरणको आधारलाई समाप्त गर्दै दुईवटा पार्टीबीच मात्र एकता भयो । देशभर राष्ट्रवादी शक्तिको आवश्यकता महशुस भैरहेका बेला पार्टीको खण्डीकरण शुुभसंकेत होइन । मैले तीनवटै पार्टीलाई एकीकरण गरेर अघि लैजानु पर्छ भन्ने विचारको नेतृत्व गर्ने भएकोले म असहमतिका साथ नै दुई पार्टीको एकता प्रकृयामा सहभागी नभएको हो । राष्ट्रवादी शक्तिको शक्ति संचय र प्रस्तुति नै राप्रपा प्रवेशको मूल औचित्य रहेको छ ।

  • कमल थापा नेतृत्वको पार्टीमा अब तपाईको भूमिका कस्तो रहन्छ ?

राष्ट्रवादी शक्तिहरुको एकता आजको नेपालको विषम परिस्थितिमा अपरिहार्य छ । मैले अब यो पार्टीमा वरिष्ठ नेताको हैसियत पाएको छु । यस पदको माध्यमबाट निरन्तर क्रियाशील रहेर सांगठनिक र राजनैतिक रुपमा दायित्व निर्वाह गर्नेछु ।

  • राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डाका विषयमा तपाईको धारणा के छ ?

– पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा म पूर्ण प्रतिबद्ध छु । संवैधानिक राजसंस्थाको विषयमा हामी राजनैतिक रुपमा जनमत/जनलहरको वृद्धिका लागि निरन्तर क्रियाशील छौं । हामीले पार्टीगत रुपमै मेचीदेखि महाकालीसम्मको स्वाभिमान यात्राको प्रारम्भ गरेर गाउँ शहरमा नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको विषयमा पुनः गहन छलफल विमर्शशालाहरु अघि बढाउने निर्णय गरेका छौं ।

  • तपाईंको अमूल्य समयको लागि कृतज्ञताका साथ सफल कार्यकालको हार्दिक शुभकामना बोहोरा ज्यू ।

– धन्यवाद ।


प्रकाशित मितिः आइतवार, फागुन १२, १६:०३