काठमाडौंः प्रवेश गरेको १९ दिनपछि मनसुन देशैभर सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि देशैभर मनसुन सक्रिय भएको हो ।

पूर्वी वायुले पूर्ण रूपमा पश्चिमी वायुलाई विस्थापित गरेपछि देशैभर मनसुन सक्रिय भएको हो । २५ जेठमा पूर्वी नेपालबाट कमजोर रूपमा मनसुन प्रवेश गरेको थियो ।

यसअघि मनसुनी वायु कमजोर हुँदा पश्चिम नेपालमा मनसुन सुरु हुन सकेको थिएन । आवश्यक वर्षा नहुँदा पश्चिम क्षेत्रमा मकै बाली र धानको ब्याडमा असर परेको थियो । देशैभर मनसुन सक्रिय भएपछि किसानलाई राहत पुगेको छ ।