भक्तपुरः मध्यपुर थिमि नगरपालिकाले दैनिक करिव ६ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ । कम्तीमा ६० जना स्वयंसेवक खटिएर नगरका तीन ठाउँबाट सेवा दिइरहेको स्वयंसेवक तथा जनप्रतिनिधि हरिदास प्रजापतिले जनाए । ‘अहिले बहाखा बजारस्थित एभरेस्ट पार्टी प्यालेस, सिद्धिकाली चोकको शुभश्री र बोडेको सिन्टिटारबाट खाना खुवाउँदै छौं ।’ प्रजापतिको भनाइ छ ।

सरकारले घोषणा गरेको लकडाउनसँगै दैनिक मजदुरी गुमेकोले आम्दानीको स्रोत नभएर पनि अधिकांश मजदुर निःशुल्क खाना खान बाध्य भएका छन् । मानवधर्मको रुपमा गरिँदै आएको भोकालाई खाना खुवाउने अभियानमा साथ र सहकार्य गर्ने सबैलाई प्रजापतिले धन्यवाद दिए ।


त्यस्तै, वैशाख ११ गतेदेखि निरन्तर स्वयंसेवा गर्दै आएका समाजसेवी राजेश मानन्धरले छिमेकी पालिकाबाट समेत मजदुरहरु खानाको लागि आउने गरेको दाबी गरे । हरेक दिन बिहान र बेलुकी व्यवस्थित रुपमा प्याकेट बनाएर खाना वितरण गरिँदै आएको मानन्धरले जानकारी दिए । निःशुल्क खानाको लागि कसरी आर्थिक व्यवस्थापन गर्नुभएको छ भनी सोधिएको प्रश्नमा उनले अहिलेसम्म स्वस्फूर्त सहयोग गर्ने दाताहरुले धानेको भएपनि यो क्रम लामो समय नचल्ने जनाए ।

नगरपालिकाको अभियान भएर नगरपालिकाले नै पेश्की दिएर समन्वय गर्न सके स्वयंसेवीहरुलाई सेवा दिन तुलनात्मक रुपमा सहज हुने उनको भनाइ थियो । निःशुल्क खाना खुवाउनमा समाजप्रति उत्तरदायी व्यवसायी, सहकारी तथा मनकारी मन भएका व्यक्तिहरूले सहयोग गरेका छन् ।

खाना खुवाउने ठाउँमा सामाजिक दुरी बनाएर लाइनबाट खाना वितरण हुँदैआएको छ । लकडाउनमा कारणवश आआफ्नो गाउँ जान नपाएका असंगठित मजदुर, स्कूल तथा कलेज पढ्ने विद्यार्थी तथा विपन्न वर्गहरु खाना खानको लागि आउने गरेका छन् ।

भोकालाई निःशुल्क खाना खुवाउने अभियानलाई मध्यपुर थिमि नगरपालिका–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापति, अभयन्द्र रंजित, दिनेश श्रेष्ठ, सीता विक लगायतका व्यक्तिहरुले सामुहिक संयोजन गर्दै आएका छन् ।


प्रकाशित मितिः शनिबार, वैशाख २०, १०:५५