सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने मुडे–मेलुङ सडको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सोमबार एक सूचना प्रकाशित गरी निगाले बजारबाट १६ किमि सडकको स्तरोन्नतिको कामको ठेक्का तोडिएको जनाएको हो ।

गृहमन्त्रीले काम नगर्ने ठेकेदारहरूलाई पक्राऊ गरी जेलसम्म हाल्न स्थानीय प्रशासनलाई निर्देशन दिएलगत्तै डिभिजन सडक कार्यालयले काम नगर्ने उक्त सडकका ठेकेदारलाई कारबाही स्वरुप ठेक्का तोडेको हो ।

पटकपटक ताकेता गर्दा पनि समयमा काम नगरेको भन्दै डिभिजन सडक कार्यालयले ठेक्का तोडेको हो । कार्यालयसँग कुनै पनि दाबी भुक्तानी भए प्रमाणसहित उपस्थित हुन निर्माण व्यवसायीलाई सूचनामार्फत आग्रह गरेको छ ।


ठेकेदार कम्पनी द कञ्चनजंघा लामा विल्डर्स जेभी, सुकेधारा, काठमाडौंले कामको जिम्मा लिएको थियो । काम सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेपछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो ।

डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख डिभिजन इन्जिनियर अशोक तिवारीले एक वर्षदेखि पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएकाले ठेक्का तोड्न बाध्य भएको हो ।

पछिल्लो पटक भूकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गर्दा सडक विभाग पछिल्लोपटक २०७४ साल असार ३० सम्म म्याद थप गरेको डिभिजन कार्यालय दोलखाले जनाएको छ ।

त्यसपछि उसले कुनै पनि काम नै नगरेको सडक कार्यालयले जनाएको छ ।  कारोबार दैनिकमा समाचार प्रकाशित छ ।