काठमाडौंः कृषि नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ । नेपालको ६३ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । यसले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरेको छ । अहिले सरकारले कृषिलाई विशेष रूपमा अघि बढाउने बताइरहेको छ । ५ वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । अर्को, सरकारले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन बढाउने बताएको छ । रोजगारीका लागि विदेशिएका युवालाई कृषिमै लगाउने बताएको छ । पहिलेदेखिका सरकारलेजस्तै यो सरकारले पनि कृषिलाई विशेष प्राथमिकताकै रूपमा लिने निश्चितजस्तै छ । यति हुँदाहुँदै पनि नेपालको कृषिक्षेत्रले आन्तरिक तथा बाह्य अनेकौं अप्ठ्यारा समस्या बेहोरिरहेको छ त्यसलाई बजेटले कसरी लेला ? यसले नेपालको कृषिको भविष्य निर्धारण हुने निश्चित छ ।


कृषिका केही विशेष क्षेत्र

चिया: चिया नेपालको विशेष कषि उपज हो । नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिया उच्च गुणस्तरको छ । नेपालमा अहिले ५५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । ३ लाख किलो मात्र नेपालमा खपत हुन्छ भने अरू सबै भारत तथा तस्रो मुलुकमा निर्यात गरिन्छ ।

अलैंची: अलैंची पनि नेपालको निर्यातमूलक कृषि उपज हो । नेपालको पूवी भगमा यसको उत्पादन बढी छ । केही समययता देशका अरू क्षेत्रमा पनि यसको खेती गरिंदै छ ।

अदुवा: अदुवा पनि नेपालको विशेष कृषि उपज नै हो । यसको उत्पादन चुरे क्षेत्रमा यसको उत्पादन हुन्छ । त्यस्तै मध्य पहाडमा पनि यसको उत्पादन बढी हुन्छ । नेपाली अदुवाको माग भारतका धेरै छ ।

कफी: कफी पनि नेपालको पहाडी क्षेत्रमा बढी मात्रामा उत्पादन हुन्छ । पश्चिमाञ्चल क्षेत्रमा बढी उत्पादन भए पनि केही समययता देशको पूर्वदेखि पश्चिमसम्म पहाडी क्षेत्रमा उत्पादन हुन्छ र यो पनि निर्यातमूलक कृषि उपज हो ।

उखु: उखु नेपालको विशेष कृषि उपज हो । यसको खेती तराई क्षेत्रमा बढी हुन्छ । यो चिनीको आयातलाई प्रतिस्थापन गर्ने नगदे बाली हो ।

कुखुरा पालन: कुखुरापालन पनि नेपालको कृषि क्षेत्रको महत्वपूर्ण उपज हो । यसले मासुमा देश आत्मनिर्भर बनाउँदै गएको छ भने आयातलाई रोकिरहेको छ ।

तरकारी: नेपालमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । तराई क्षेत्रमा तरकारी खेती प्रभावकारी रूपमा हुन्छ भने पहाडमा पनि यसको खेती बढ्दै गएको छ । नेपालमा भारतबाट तरकारी आयात भए पनि नेपालको तरकारी पनि भारततिर निर्यातसमेत हुन्छ ।

नेपालमा विभन्न खालका अन्न उत्पादन देशका सबै क्षेत्रमा हुन्छन् । अरू पनि अनेकौं कृषि उपज छन् जसलाई राज्यले प्रवद्र्धन गर्नु आवश्यक छ ।

कृषिक्षेत्रको अहिलेको अवस्था

कृषिका यी क्षेत्रलाई नेपालले प्रवद्र्धृन गर्न सक्ने हो भने राज्यले ठूलो लाभ लिन सक्छ तर यी क्षेत्र पनि समस्यै समस्यामा छन् । अहिले चियाले समस्या बेहोरिरहेको छ । एक त सरकारले यसको आधुनिक प्रविधि, विशेष शोध अनुसन्धानको व्यवस्था गरेको छैन । अर्को, साना कृषकले उत्पादन गरेको चियापत्तीको बजार सुनिश्चित छैन भने नेपाली उद्योगले उत्पादन गरेको उत्पादनको निर्यात बजार सुनिश्चित हुन सकेको छैन ।

नेपालको चिया भारतीय कम्पनीहरूले भारतीय चियाका रूपमा विदेश निर्यात गर्छन् । नेपालको चिया भारतको भन्दा गुणस्तरीय भए पनि भारतले नेपाली चियालाई अवरोध गरिरहन्छ । भारतले कहिले प्रत्येक खेपको कोलकाताबाट क्वरेन्टाइन चेक गराउनुपर्ने निहुँमा रोक्ने र अहिले तेस्रो मुलुकमा निर्यात गर्दा नेपाली चिया भातमा नबेच्ने भारतीय अदालतको ग्यारेन्टीपत्र देखाउन सीमा भन्सारले भन्न थालेको छ । यसले भारतीय बाटो भएर तेस्रो मुलुक निर्यात गर्न पनि कठिन पर्दै गएको छ । नेपालमा उत्पादित अदुवालाई पनि भारतले विभिन्न खाले अवरोध गर्दै आएको छ । नेपाली अदुवाले भारतीय उत्पादनलाई असर पार्ने बताउँदै अदुवालाई भारत निकासीमा अवरोध बाधा पर्दैछ ।

अर्को, अलैंची उत्पादनले पनि धेरै अप्ठ्यारा समस्या बेहोरिरहेको छ । समय–समयमा अलैंचीमा रोगले सताइरहन्छ । सरकारले यो खेतीलाई विशेष रूपमा लिएर आधुनिकीकरण र शोध अनुसन्धान गर्ने संयन्त्रको विकास गर्न सकेको छैन । विदेशी बजार सुनिश्चत गर्न सकेको छैन । नेपालको अलैंचीको ठूलो हिस्सा भारतमा निर्यात गरिंदै आएको छ । भारतले यसमा पनि विभिन्न नाममा अवरोध गरिरहेको छ । सरकारले भारतबाहेक अन्य अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सकेको छैन । यसले गर्दा अलैंची उत्पादक कृषक पीडित भएका छन् । उनीहरूले यसलाई कति समयसम्म धानिरहने हुन् भन्न सकिन्न ।

नेपालको महत्वपूर्ण कृषिक्षेत्र भएको र देशको ठूलो क्षेत्रमा प्रसार गर्न सकिने भए पनि अहिले उखु कृषक अत्यन्तै पीडित भएका छन् । एक त समयमा गुणस्तरीय मल, बीउ नपाउने अर्को आधुनिक प्रविधिको अभाव, सिंचाइको अभावका कारण उत्पादनमा असर परेको छ भने कृषले उत्पादन गरेको उखुको उपयुक्त मूल्य नपाउने तथा उखु मिलले त्यसको भुक्तानी समयमै नगर्नाले कृषक अत्यन्तै पीडित हुँदै आएका छन् । यसले गर्दा कृषक यो क्षेत्रबाटै विस्थापित हुने अवस्था आएको छ । अर्को, चिनीको आयात भने बढ्दै गएको छ । सरकारले यसलाई कसरी सम्बोधन गर्ला ?

नेपालको विशेष उत्पादनका रूपमा लिन सकिने कुखुरापालन व्यवसाय पनि हो । यसले धेरै ठूलो जनसंख्यालाई रोजगारी दिएको छ भने मासुमा देशलाई नै अत्मनिर्भर बनाएको छ । देशका सबै क्षेत्रमा व्यावसायिक रूपमा अघि बढेको यो व्यवसायले नेपालको अर्थतन्त्रलाई ठूलै टेवा दिएको छ । कुखुरापालन व्यवसाय यति महत्वपूर्ण रहे पनि अहिलेसम्म सरकारले यसलाई विशेष रूपमा लिएर अध्ययन, अनुसन्धान संयन्त्र तयार गरेर समयसमयमा आउने बर्डफ्लुजस्ता रोगबाट बचाउन कुनै पहल गरेको छैन । सरकारले यसलाई बेवास्ता गर्नाले यो उद्योगमा ठूलो मात्रामा लगानी गरेका कृषक अत्यन्तै पीडित बन्दै आएका छन् ।

नेपालको कृषिमा बाह्य प्रभाव र नेपालको तयारी

नेपालको कृषिक्षेत्र आन्तरिक रूपमा बेवास्ता, अदूरदृष्टि र सरकारका योजना कार्यान्वयनको बेवास्ता गर्ना पीडित छ नै छिमेकी राष्ट्रका नीति र व्यवहारबाट पनि अत्यन्तै प्रभावित बन्दै गएको छ । नेपालको व्यापारदेखि धेरै क्षेत्र भारतको नीति र व्यवहारबाट प्रभावित बन्दै आएको छ । यो साल भारतीय कृषि बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । भारतले कृषिमा ठूलो लगानी बढाएको छ । सिंचाइ, अत्याधुनिक प्रविधि, मल, उपयुक्त बीउ तथा कृषकलाई ६० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्दै भारत सरकारले कृषिलाई विशेष रूपमा अघि बढाउने निधो गरेको छ । यसले गर्दा यो वर्ष भारतको कृषि उपज बढ्ने अनुमान गरिएको छ । यो वर्ष भारतको कृषि उपज गत वर्षको २७ करोड ५१ लाख टनलाई नाघेर २७ करोड ७५ लाख टन उत्पादन हुने अनुमान गरिएको छ । भारतमा धान, दलहन, कपास, मकै, गेडागुडी र उखुको उत्पादन बढ्ने देखिएको छ । यसले भारतको कृषि उपजको निर्यात बढ्छ । त्यसले नेपालको कृषि उपजमा पार्ने निश्चित छ । भारतको पूर्वाधार, प्रविधि र अनुदानका कारण त्यहाँको उत्पादन सस्तो पर्न जान्छ जसले गर्दा अभावैअभावमा पिल्सिएको नेपाली कृषि उपज प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहन्न । जसले गर्दा नेपाली उपजले लागत मूल्यसमेत उठाउन पनि कठिन छ ।

सरकारले कृषिलाई जस्तो रूपमा लिने बताए पनि यी माथिका अवस्थालाई मनन गर्न सकेन भने कृषिलाई आकर्षणको क्षेत्र बनाउन कठिन छ । अहिले नेपालमा कृषि उपजको आयात लगातार रूपमा बढिरहेको छ । अर्थिक वर्षको ६ महिनामै १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज नेपालमा आयात भएको छ । त्यसमध्ये ९० प्रतिशत आयात भारतबाटै भएको छ । यसलाई कम गर्न नेपालले आन्तरिक रूपमा पूर्वाधार विकास, बजार व्यवस्थापन, प्रविधिको विकास, गुणस्तरीय मल बीउको व्यवस्था गर्दै विशेष रूपमा अघि बढ्नु त पर्छ नै भारतको कृषि नीति र त्यहाँ व्यापारमा हुने फेरबदललाई ख्याल गरेर अघि नबढ्ने हो भने नेपालले कृषिलाई प्रभावकारी बनाउन कठिन छ । खुला सीमाले पनि नेपाली कृषिमा गम्भीर असर पर्दै आएको छ । मंगलबार प्रस्तुत गरिने बजेटले कसरी सम्बोधन गर्ने हो त्यसले नै कृषिको भविष्य निर्धारण गर्नेछ ।