काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ ।

आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमितसँग धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टीकरण मागिएको समेत उनले बताए ।

उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए ।

यसैगरी, मन्त्रालयले कोरोनाका कारण मृत्यु भएकाहरुको विवरण फरक–फरक आएकाले त्यसको विषयमा छानव‍िन गर्न समिति गठन गरेको पनि प्रवक्ता डा गौतमलले जानकारी दिए ।


प्रवक्ता डा गौतमले मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखाका प्रमुख र सीसीएमसीका चिकित्सकसहित तीन सदस्यीय समिति गठन गरी संक्रमितको मृत्युको विवरणबारे छानविन भइरहेको जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १८:१७