काठमाडौंः धादिङ र रौतहटबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

धादिङ थाक्रे गाउँपालिका—७ हाप्सेचौरबाट मकवानपुर थाहा नगरपालिका—१२ बस्ने १८ वर्षीय राम बहादुर वाइबालाई लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ करिब १ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट हाप्सेचौरबाट खटिएको प्रहरीले मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख७७१८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै रौतहट गौर नगरपालिका—१ मेनचौकबाट नियन्त्रित लागूऔषध सहित चन्द्रपुर नगरपालिका—६ देउराली चोक बस्ने २६ वर्षीय संजय तिमल्सिनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


तिमल्सिनाको साथबाट डाइजेल्याब ३३ एम्पुल, फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल, नाइट्राभेट २७ टयाब्लेट र एभिल ईन्जेक्सन २ थान प्रहरीले बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, १५:५१