काठमाडौंः काभ्रेपलाञ्चोकको धुलिखेलबाट पनौतीसम्म (करिब १० कि.मि.) एकीकरण मार्ग पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

पदयात्रा कार्यक्रम आज प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाली सेनाको पहलतामा संचालन भइरहेको एकीकरण मार्ग कार्यक्रम अर्न्तगत नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक इतिहासको जगेर्नाका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका जिल्ला संयोजक उद्धव के.सी., उप संयोजक मञ्जु गौतम, धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु, पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि लगायत नेपाली सेनाका रथीबृन्द र अधिकृतहरुको सहभागिता रहेको थियो ।


उक्त पदमार्गका दौरान धुलिखेल नगरपालिकाको देविस्थानमा पृथ्वी नारायण शाहको सालिक अनावरण भएको थियो भने पनौतीको ऐतिहासिक इन्द्रेशोवर मन्दिर प्राङ्‍गणमा आई कार्यक्रम सम्पन्न भएको थियो ।

समापनको क्रममा पनौती संग्राहलयका राजेन्द्र महाजुले पनौतीको इतिहासबारे प्रकाश पारेका थिए भने उपरथी बालकृष्ण कार्कीले समापन मन्तव्य राखेका थिए ।

उक्त पदमार्गमा पर्ने सर्वसाधारण, उद्योगी व्यवसायी लगायत स्थानीय संघसंस्था एवं सरोकारवालाहरुले देखाएको आत्मीयता, उल्लासपूर्ण सहभागिताले राष्ट्रिय एकता, सैनिक इतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत थप टेवा पुग्ने विश्वास सेनाले लिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २९ गते शनिबार, १९:३२