चितवनमा रिक्सावालासँग ज्यान बचाएर हिँडेको केही समयपछि काठमाडौं पुगेँ । काठमाडौं गजब थियो । रत्नपार्क त उर्वशीपार्क भएछ । विदेश पढ्न जाने विद्यार्थीलाई पढाउने ठाउँ हिजोआज बटरफ्लाई रोड भएछ, उहिले पुतलीसडक भन्थे अरे । उहिलेको बागबजार हिजोआज टाइगर मार्केट भएछ । कोहि कोरियाको चक्करमा हिँडिरहेका । अनेक भाषाका अनेक विद्वान् विदुषी देखेर मलाई पनि आफ्नै मातृभाषा ‘शुद्ध नेपाली’ बाल्ने रहर पुनः पलाएर आयो ।

काठमाडौंमा यातायातको अति दुःख । काठमाडौंका गाडीको सिन्की कोचाइ र सन्की कुदाइको बारेमा त हजुरबुबा भैरव अर्यालले उहिले नै बताउनुभएकै थियो । अहिले आफै भोगियो ।


सत्ययुगमा शिवजी साँढेमा, विष्णु गरुडमा, कुमार मयूरमा इन्द्र हात्तीमा सवार । कलियुगमा कसैको साइकल, कसैका भटभटे, कसैको प्राडो, कसैको पजेरो । म चाहिँ कति पैदल हिँडौं ? कति अरुको गाडीमा चढौँ , एउटा मोटरसाइकल त नकिनी भएन भन्ने सोच भयो ।

एकदिन, ट्याक्सी रोकेर ड्राइभरलाई सोधेँ चालक महोदय, मलाई एउटा वाहन क्रय गर्ने अभिलाषा छ । अतः वाहन प्रदर्शनस्थलीमा लगिदिनुहोस् न । बरू द्रव्य पो कति अर्पण गर्नुपर्ने हो ?

उसले भन्यो, ‘ए भाइ’ अरु त बुझिनँ, पर्दर्शन स्थली मात्रै भनेको बुझेँ । धर्मस्थली पनि थाहा छ, वनस्थली पनि थाहा छ तर पर्दर्शन स्थली कता छ रु थाहा भएन ।

तपाईं वाहन सञ्चालन गर्नुहोस् । स्थान म बताउँला भनेर ट्याक्सी चढेँ । खोइ केको हतारले हो ? उसले बेसरी कुदायो ।

मैले अनुरोध गरेँ, चालक महोदय, यसरी तीव्र गतिमा वाहन धावन गर्नु स्वास्थ्य हेतु हानीकारक हुन्छ । कहिलेकाही त प्राणघातक पनि हुनपुग्छ । अतः कृपया गति मन्द धावन गर्नुहोस् ।

ड्राइभरले के बुझेछ कुन्नि, रिसाएर भन्यो मैले चुरोट खाछु र स्वास्थ्यको लागि हानिकारक हुने ? अचम्म अचम्मका भुत्ताहरू ट्याक्सी चढ्छन् बा ।

म चुप भएँ । गाडीको रफ्तार उही थियो । एकछिनपछि, उसको मोबाइलमा घन्टी बज्यो । उ फोन उठाउन खोज्दै थियो, मैले बिचैमा रोकेर भनेँ , श्रीमन्, यसै त तीव्रगतिमा वाहन सञ्चालित छ । यस अवस्थामा ध्वनियन्त्र सञ्चालन गर्नु या वार्तालाप गर्नु निकै हानिकारक हुन्छ । यस्तो कार्य त सीधै मृत्युलाई आवाहन गर्नु हो । वाहनसञ्चालनको सरकारी विधिअनुसार पनि यो अनुचित कार्य हो । अतः यस अवधिमा मौन रहनु नै उत्तम हुन्छ ।

ओ गड, कस्तो कस्टमर आइलाग्यो आज, गेट आउट मदरफकर म उसको अङ्ग्रेजी भाषाको दक्षता देखेर आनन्दित हुँदैथिएँ तर ड्राइभर त रिसले आँखै नदेख्ने भएको रहेछ । इमर्जेन्सी ब्रेक लगाएर ट्याक्सी रोकी ढोका खोलेर मलाई बाहिर हुत्याइदियो र टाप कस्यो ।

म सडकमा पछारिएँ । सामान्य चोट लागेको थियो । मान्छेहरू जम्मा भैहाले । कोही एम्बुलेन्स बोलाउने भन्दै थिए । कोहि पुलिस बोलाउने भन्दै थिए । जसोतसो धानिएर मैले भनेँ  म सामान्यरुपेण आहत भएको छु । चलरुग्णालय बोलाउने आवश्यकता छैन । प्रहरीलाई निमन्त्रण पनि नगर्नुहोस् । बरू जलपान गर्ने अभिलाषा छ, दिनुस् न ।

एउटा नेवार बोले, कस्टो मान्छे रेछ ? बाटोमा खसेर घाइटे भको छ जलपान गर्छु, पुलिसलाई पनि निमन्ट्रना पठाउ पो भन्छ ट । ए भाइ , टिम्रो डिमाख खुस्क्यो क्या हो ? यसलाई पाटन मेन्टल हस्पिटल पठाइडिउँ ।

मान्छेहरू गए । म एक्लो भएँ । यसो हेरेको लैनचौरमा रहेछु । अगाडिपट्टी बाइकको सोरूम रहेछ । ढुङ्गा खोज्दा देउतै मिल्यो भन्ठानेर गदगद हुँदै भित्र पसेँ ।

म्यानेजर आयो र सोध्यो, हजुर के सेवा गरौँ ?

मैले भनेँ, म द्विचक्रयुक्त धूमपट्टयान क्रय गर्ने इच्छाले आएको छु । उचित मूल्यमा प्रदान गर्नुभयो भने म वाहनको स्वामी बन्नेछु ।

म्यानेजर, हैट के को स्वामी बन्ने कुरा हो रु स्वस्थानीमा सतीले शिवजीलाई स्वामी भनेको त सुन्या थेँ । हामी बिहेको लमी होइनौँ भाइ केटी पाए म आफै स्वामी हुने थिएँ । तिमीलाई कताबाट केटि खोजिदउँ ?

मैले भने हैन हैन, अशुद्धबोध भयो तपाइँलाई ।
म धूमपट्टयान किन्न चाहन्छु तर द्विचक्रयुक्त ।

म्यानेजर असाध्यै रिसायो तेरीमा जोगी कहिले स्वामी कहिले अशुद्ध । मन्दीले गर्दा बिजनेस चौपट छ, तँ धुमपट भन्छस् रुभाग यहाँबाट । चिर्पटले तेरो कनपट फोरिदिउँ ?

म तीव्रगतिमा टाप कसेँ । बल्लतल्ल ज्यान बचाएर एउटा पसलअगाडि बसेको थिएँ, काँधभरी तारारफुली लगाएर बर्दीमा सजिएका एकजना सज्जन भेटिए । कवि माधव घिमिरे रहेछन् । अहिलेको जमानामा मेरो मर्म बुझ्ने, भाषाविद यिनै मात्रै होलान् भन्ठानेर नतमस्तक भएँ ।

उनले बडो गर्वले सुनाए । सरकारले मानार्थ सेनाधिकृत दर्जा दियो । आज अति सन्तुष्ट छु । बरू हजुरको अनुहार मलिन देख्छु नि ?

मैले भनेँ, धूमपट्टयान क्रयणार्थ परिभ्रमण गर्दै थेँ, व्यवस्थापकले चिर्पट लिएर खेदायो, येनकेन शरीर रक्षा गरी आएँ । अहिले चटपट भक्षण गर्दैछु । हजुरको सङ्गमले म धन्य भएँ । आउनुस्, सँगै भक्षण गरौँ । ।

उनले चटपटको बुजो मुखमा हाल्दै भने अहो, मोटरसाइकल पो किन्ने विचार तपाईंको ? ल हिँड्नुहोस् । म लगिदिन्छु ।

उनै कविको भाषाप्रवीणता, कृपा र सदाशयले गर्दा द्विचक्रयुक्त धूमपट्टयान (बाइक) चढ्ने मेरो रहर पूरा भयो ।
हिजोआज यही पल्सर मेरो वाहन भएको छ । म कृतकृत्य भएको छु ।

  • चिरन्जीवी ढकाल