काठमाडौंः काठमाडौंमा नक्कली जस्तो देखिने नेपाली नोट सहित दुई जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ घर भएका ३५ वर्षीय गन बहादुर लोप्चान रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी लिए ।


साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि security thread बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, १४:२०