काठमाडौंः केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल सरकारको पर्यटक पथ प्रर्दशक हुन आवश्यक शैक्षिक योग्यता तथा भाषाको विज्ञताका नक्कली प्रमाणपत्र पेश गर्ने ६ जना गाइडलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानमा नक्कली शैक्षिक प्रमाणपत्र पेशगरि पथ प्रर्दशक अनुमति पत्र लिएका ६ जनालाई पर्यटन विभागबाट पक्राउ गरेको हो।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर र पाइलटपछि टुरिस्ट गाइड विरुद्धसमेत कारवाही थालेको छ। ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रका आधार चिनियाँ पर्यटक घुमाउदै आएका पथ प्रर्दशक अनिल महर्जन, किशोर चौगुठी, रमेश महर्जन, माधव चालिसे, राजिब महर्जन र अमृत डंगोललाई पक्राउ गरेको हो।


पक्राउ आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप किर्ते दस्तखतमा म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।