काठमाडौंः नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको आरोपमा प्रहरीले एक बस चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ना ६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–१२ बस्ने २८ वर्षीय आशिष थापा रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो नागढुंगा चेकप्वाईन्टमा जाँच गर्ने क्रममा नेपालगञ्जबाट काठमाडौं आएको उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बमोजिम आएको तथा ३७ जना यात्रु संख्याको लागि जारी भएको उक्त पास सहित आएको बसमा २४ जना यात्रुहरु रहेका फेला परेको थियो ।


उक्त पास शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्दा उक्त पास जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पासको किर्ते भएको पाइएपछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

बसमा सवार यात्रुहरुलाई कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी होल्डिङजोनमा पठाइएको र थापालाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०८:२१