भक्तपुरः मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।

ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको विरोध तथा प्रदर्शनपछि प्रहरी वृत्त थिमि घेराउ गरिएको हो ।

मध्यपुरथिमि बालकुमारीबाट शुरु भएको विरोध, दुईपोखरी, बाहाखा बजार, नगदेश परिक्रमा गर्दै प्रहरी वृत्त थिमि पुगेर घेराउ गरेको छ ।

प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनसँग भेट गरी आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको स्थानीयवासी विरोध समितिका सदस्य नवीनप्रकाश श्रेष्ठले बताए ।


। थिमिका बासिन्दाले १५१ सदस्यीय विरोध समिति गठन गरेर घटनाको विरोध गर्दै आएका छन् ।

श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको र घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरीले मुख्य आक्रमणकारीलाई अझै पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् ।

स्थानीयवासीले विरोध र प्रहरी वृत्त थिमि घेराउ गर्दै ‘दोषीलाई तत्काल पक्राउ गर्, आक्रमणकारीलाई कडा कारबाही गर, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे’ लगायतका नारा लेखिएको प्ले कार्ड बोक्दै प्रदर्शन गरेका थिए ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले भने प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएका छन् ।