काठमाडौंः नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ । ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो । ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी प्रधान कार्यालय भण्डारण शाखाले बिनाहिचकिचाहट बुझेको छ । अहिले ठेकेदारले बुझाएका जर्सी, बुट, झोला, चुस्ता, ऊनका सर्ट पाइन्ट, कटन पाइन्ट, ट्र्याक सुट, ब्यारेक क्याप, टप बुट पार्कर ज्याकेट स्वीकृत नमुनाभन्दा फरक छन् । ठेक्का सम्झौतामा फागुनभित्र सबै सामान बुझाइसक्नुपर्छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लत्ताकपडाका सामान सबै आउन थालिसकेका छन् ।


। जसमध्ये टप बुट २४ हजार जोडी आइसकेका छन् । डिएसएम बुट पनि आउन थालिसकेको छ । टेन्डर गर्दा नमुना परीक्षण गरी स्वीकृत गरिन्छ । त्यसैअनुसार ठेकेदारले सामान ल्याउने कबुल गरेपछि मात्रै ठेक्का दिइन्छ । तर ठेकेदारले दाखिला गर्ने बेलामा स्वीकृत नमुनाभन्दा फरक सामान हुन्छ । यसमा आर्थिक अनियमितता भएको स्रोतको दाबी छ ।

प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा स्रोतका अनुसार लत्ताकपडा खरिदमा मात्रै प्रहरीले ७३ करोड रुपैयाँको टेन्डर गरेको थियो । लत्ताकपडाको नमुना परीक्षण नेपालको नापतौल तथा गुणस्तर विभागमा हुँदैन । भारतको इन्टरटेक प्राइभेट लिमिटेडमा परीक्षण गराइन्छ । भण्डारण शाखाले सामान पठाउँदा त्यहाँ सिलबन्दी गराउँदैन । जुन ठेकेदार कम्पनीले सामान बुझाएको हो, उसैलाई नमुना परीक्षणका लागि भारत पठाइन्छ । ‘ठेकेदारलाई नै नमुना परीक्षणका लागि सामान पठाउँदा उसले कस्तो रिपोर्ट लिएर आउला सहजै अनुमान गर्न सकिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार प्रहरी प्रबन्ध शाखामा रहेका कर्मचारी र ठेकेदारबीच मिलेमतो हुने गरेका कारण प्रहरी कर्मचारीले स्वीकृत नमुनाअनुसार विगत तीन वर्षदेखि कपडा पाएका छैनन् ।

दुई वर्षसम्म टिक्नुपर्ने डिएसएम बुट चार महिनामा तलुवा उप्किने गरेको तथा ६ महिनामा फाट्ने गरेको छ । त्यसैगरी कपडाको रङ खुइलिने र च्यातिने गरेका कारण प्रहरी कर्मचारीले अर्को कपडा किन्नुपरेको छ । सेटिङमा नमुना परीक्षण भएकाले अनियमितता हुने गरेको रहस्य खुलेको एक प्रहरी कर्मचारीले बताए । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः आइतबार, फागुन २५, ०७:०३